काठमाडौं । चीन भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल र अवलोकनबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएको छ ।
चीन भ्रमण दलका प्रमुख एवं पार्टी महामन्त्री विपिन कुमार आचार्यले आज सभापति लामिछानेलाई भेटेर भ्रमणका उपलब्धि र अनुभवबारे विस्तृत जानकारी गराएका हुन् ।
महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको थियो । उक्त टोली नोभेम्बर २६ मा नेपाल फर्किएको हो ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई टोलीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । उक्त भेटमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि तथा नीतिगत र सांगठनिक अनुभव आदानप्रदानका विषयमा छलफल भएको महामन्त्री आचार्यले सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
त्यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएका संवादमा सुशासन, विकास र अन्तरपार्टी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भ्रमणका क्रममा टोलीले चीनका विभिन्न उद्योग तथा व्यावसायिक क्षेत्रको अवलोकन गर्नुका साथै अन्तरक्रिया गरेको थियो । विपद् आउनुअघि अपनाइने तयारी, विपद्पछिको व्यवस्थापन तथा रणनीतिबारे समेत अध्ययन र छलफल गरिएको थियो ।
यसका अतिरिक्त नेपाल–चीनबीच द्विपक्षीय सहकार्यका सम्भावना र आपसी हितका विषयमा पनि चिनियाँ पक्षसँग खुलेर संवाद भएको महामन्त्री आचार्यले जानकारी गराएका थिए ।
ब्रिफिङपछि सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक सम्बन्ध तथा अवलोकन र छलफलबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्न निर्देशन दिएका छन् ।
उनले भ्रमणबाट सिकिएका विषयलाई पार्टीको आन्तरिक काममा मात्रै सीमित नराखी देशको विकास र सुशासनमा समेत उपयोग हुने गरी कार्यान्वयनको दिशामा अघि बढाउन भ्रमण टोलीलाई आग्रह गरेको रास्वपाले जनाएको छ ।

















