कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा शुक्रबार बिहान एक युवकको शव फेला परेको छ ।वीरगञ्जस्थित नवीन बैंकमा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुरको शव पार्टी प्यालेसको कोठा नम्बर ६ मा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनी उक्त कोठाको बेडमुनि अचेत अवस्थामा भेटिएका थिए ।प्रहरीका अनुसार मृतक ठाकुर सप्तरी जिल्लाका मूल निवासी हुन् । उनी हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका प्रगति नगरमा बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक जाँच गर्दा ठाकुरको मृत्यु भइसकेको पुष्टि भएको बारा प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारा मातहत कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको छ । प्रहरीका अनुसार सो पदार्थको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply