कृपा संवाददाता 
कलैया –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका अधिकांश सार्वजनिक जग्गा भूमाफियाहरूले नमरी बनाएर बिक्रीवितरण गरेका छन् । भूमाफियाहरूले यति सम्म गरेका छन् कि एउटै जग्गाको २ /२ वटा लालपुर्जा समेेेत बनाएका छन् । यो कुुुुरा बाराका भूमाफियाहरूको लागि कुनै नौलो कुरा हैन । तर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको सार्वजनिक जग्गा ( मसानघाट )   होटल व्यवसायी ईच्छाबहादुर वाग्ले किर्ते गरि आफ्नोे नाममा कायम गरि अहिले बिक्रीवितरण गरेको पाईएका छन् ।  भूमाफिया वाग्ले  सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्टको नामवाट बेचबिखन भईरहेको छ । 
बाराको जीतपुरसिमरा वडा नं ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गा २०४७ साउन ३० गते किर्ते गरेर रामचन्द्र गौतमले आफ्नो नाममा कायम गरेको सो जग्गा हाल जग्गा माफियाँ तथा होटल व्यवसायी ईच्छाबहादुर वाग्ले र उनि सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्टको नामवाट बेचबिखन भईरहेको छ । वाग्लेले सो जग्गा  विरगञ्ज महानगर प्रमुख बिजय सरावगी, शालिराम सिमेन्ट कम्पनिका प्रमुख अशोक वैद्यको छोरा हेमन्त बैद्य सहित धेरै व्यक्तिलाई बेचबिखन गरिसकेका छन् भने अझैपनि केही कित्ता वाग्ले र प्रोपटी म्यानेजमेन्टको नाममा रहेको अनुसन्धानको क्रममा भेटिएको छ । 
२०४७ सालमा रामचन्द्र गौतमले किर्ते गरेर फरदवा गुठी माध्यमवाट पुर्जा बनाएको सो जग्गा उनका भाईहरु रामशरण गौतम र मोतिराम गौतम हुदै दोस्रो चरणमा २०७१ सालमा होमनाथ अधिकारी,रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवि मिजारको नाममा  श्रेस्ता कायम भएको देखिन्छ ।  त्यसपश्चात सम्पुर्ण जग्गा वाग्ले र उनको प्रोपटी म्यानेजमेन्टको नाममा कम्पनिमा गएको श्रेस्तामा देखिन्छ ।  वाग्लेले  विभिन्न ठाँउको फिल्डबुकमा ऐलानी,प्रति भनि उल्लेख भएको सार्वजनिक जग्गा किर्ते गरेर  प्रोपटी म्यानेजमेन्टको नामवाट वेचबिखन गर्ने गरेका छन् । वाग्लेले प्लटिङ्ग गरेर बेचबिखन गरेको मसानघाटको जग्गा कित्ताकाँट भएर हाल २१ ओटा कित्ता बनिसकेको छ । 
मसानघाटको जग्गा क –कस्लाई वेचे वाग्लेले 
होटल व्यवसायी तथा जग्गा माफिया वाग्लेले कित्ताकाट गरेको मसानघाटको जग्गा मध्ये कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर सिर्जना श्रेष्ठ,संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठा शान्तलक्ष्मी श्रेष्ठ र सुभ्रदा श्रेष्ठ, कित्ता नं ९५१ को ६ कठ्ठा रत्नकेशरी श्रेष्ठ,कित्ता नं ७९८ को १० कठ्ठा देवकुमारी रिमाल,९५३ को ३ कठ्ठा अनुराधा श्रेष्ठ, ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा (१६ कन्वा को १ धुर हुन्छ) एभरग्रिन तराई हस्पिटलको नाममा, ७८४८ कित्ता नं ६ कठ्ठा १० धुर प्रोपटी म्यानेजमेन्ट, कित्ता नं ११५९ को ६ कठ्ठा स्वयम् ईच्छाबहादुर वाग्लेको नाममा,६४०८को कित्ता नं३ कठ्ठा १७ धुर प्रोपटी म्यानेजमेन्टको नाममा रहेको छ ।
त्यसैगरी कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा एभरग्रिन तराई हस्पिटलको नाममा रहेको छ । कित्ता नं ७८५०,७४२५,७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर प्रोपटी म्यानेजमेन्टको नाममा श्रेस्ता कायम छ । त्यसैगरी वाग्लेको २०७५ असार ३२ गते  विरगञ्ज महानगरप्रमुख बिजय सरावगीलाई बेचेको कित्ता नं ६४०६,७४०१,७४०३,७४०५ को २ बिगाहा २ कठ्ठा मसानघाटको जग्गा महानगरप्रमुख  सरावगीले आफुसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन् ।
महानगरप्रमुख सहित  शालिमार सिमेन्ट उद्योगका सञ्चालक अशोक बैद्यका छोरा हेमन्त कुमार बैद्य,आशा अग्रवाल र निलम अग्रवालको नाम पुर्जामा उल्लेख छ । त्यसैगरी वाग्ले सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्ट  कित्ता नं ६४०७, ६४०१ र ६४०४ को ८ कठ्ठा ४ कन्वा जग्गा सुजिता अग्रवालले किनेकी छिन् । वाग्लेले मार्फत मसानघाटको जग्गा किन्नेहरु मध्ये अधिकाशं काठमाडौ निवासी रहेको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जनाए ।
२०७२ सालमा वाग्लेले मसानघाटको जग्गा प्लटिङ्ग गरेर वेचविखन गरेको सुचना पाएपछि जीतपुरसिमराका केही युवाहरुले तत्कालिन गढिमाई नगरपालिका घेराउ गरेर कारवाहीको लागि  लिखित  निवेदन समेत दिएका थिए । तर वाग्लेले सो जग्गा मसानघाटको नभएको र व्यक्तिको  नम्बरी जग्गा भएको दावी गरेको पिपरासिमरा गाँउ पञ्चायतका प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्रिले जनाए । 
पहिले आजकल जस्तो सार्वजनिक जग्गा कसैले खोज्दैनथ्यो त्यहि भएर  वाग्लेले मसानघाटको जग्गा प्लटिङ्ग गरेर वेचविखन गर्दा विरोध त भयो तर  प्रमाणसहित कसैले जवाफ दिन नसकेका कारण पछि यो विषय त्यतिकै सेलायो’ प्रधानपञ्च क्षेत्रिले भने । फिल्डबुकमा मसानघाट  भनि उल्लेख भएको सो जग्गा २०४७ सालमा फरदवा गुठीको माध्यमवाट  रामचन्द्र गौतमले आफ्नो नाममा किर्ते पुर्जा बनाएपछि होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवि मिजारको नाममा रहेको सम्पुर्ण जग्गा ईच्छाबहादुर वाग्लले आफ्नो र प्रोपटी म्यानेजमेन्ट कम्पनिको नाममा दर्ता गरी प्लटिङ्ग गर्नुले उनले मसानघाटको जग्गा  हो भन्ने जान्दा जान्दै ठुलो आम्दानी गर्ने लोभले बेचविखन गरेको  स्थानियहरुको भनाई  छ । 
वाग्ले सिमरा स्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा माफियाँ समेत हुन्  । उनले आफ्नो होटल आसपासको  ऐलानी खोला बगरको जग्गा कब्जा गरेर प्लटिङ्ग गर्दै आएका छन् ।
 
मसानघाटको जग्गा भए क्षतिपुर्ती सहित रकम फिर्ता गर्नुपर्छ : नगरप्रमुख सरावगी 
विरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले  प्रोपटी म्यानेजमेन्टले ठगी गरेर मसानघाटको जग्गा आफुलाई झुक्काएर वेचेको प्रमाणित भए क्षतिपुर्ती सहित रकम फिर्ता माग्ने बताएका छन्  । ‘मसानघाटको जग्गा उहाँले (ईच्छाबहादुर वाग्लेले) झुक्काएर हामीलाई वेचविखन गर्नुभएको  हो रहेछ भने हालसम्मको क्षतिपुर्ती सहित सम्पुर्ण रकम वा सो रकम बराबरको जग्गा उहाँले दिनुपर्छ नभए हामी आफै प्रोपटी म्यानेजमेन्टको नाममा ठगी उजुरी हाल्छौ’ महानगरप्रमुख सरावगीले भने । 
जग्गा वेचविखन सम्वन्धि कारोवार गर्ने प्रोपटी म्यानेजमेन्ट कम्पनिका सञ्चालक स्वंयम् ईच्छाबहादुर वाग्ले हुन् ।  उनले समसानघाटको सम्पुर्ण जग्गा आफ्नो कम्पनिको नामवाट वेचविखन गर्दै आएका छन् । ‘मैले आफ्नो जग्गा स्थलगत रुपमा जग्गा हेरेको छैन् तर थुप्रै जग्गा प्लटिङ्ग गरेर बेचबिखन गरेको एकदम नाम चलेको संस्था भएकोले नै हामीले प्रोपटी म्यानेजमेन्ट कम्पनिको नामवाट सो जग्गा किनेको हौं’ महानगर प्रमुखले भने ‘यदि हामीलाई ठगि गरेर मसानघाटको जग्गा बेचबिखन गरेको भए ईच्छाबहादुर वाग्लेसहित उनको कम्पनिलाई कारवाही हुनुपर्छ’ । भुमाफियाँसगको मिलेमतोमा बारा जिल्लामा करोडौ मुल्य पर्ने सार्वजनिक जग्गा व्यक्तिको नामका कायम गरेर वेचबिखन गर्ने मध्ये  वाग्ले पनि एक हुन् । 
मसानघाटको जग्गा संरक्षण गर्न वडाले काट्यो पत्र 
जीतपुरसिमरा वडा नं ४ ले आफ्नो वडा मातहतमा रहेको मसानघाटको सार्वजनिक जग्गा संरक्षण गर्न जीतपुरसिमरा उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र मालपोत कार्यलय सिमरालाई पत्र पठाएको छ । विहिवार वडा नं ४ वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर)ले पठाएको सो पत्रमा ‘फिल्डबुकमा मसानघाट भनि उल्लेख भएको जग्गा २०४७ सालमा कानुन विपरित फरदवा गुठीको माध्यमवाट रामचन्द्र गौतमको नाममा कायम भएको हुदाँ उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाउनुहुन अनुरोध छ’ भनि उल्लेख गरिएको  छ  ।
वडाध्यक्ष  खत्रीले साविक पिपरासिमरा गाविस हुदाको क्त्रिा नं ५९ को मसानघाटको जग्गा किर्ते गरेर व्यक्तिको नाममा कायम गर्ने÷ गराउने मालपोत कार्यालय र गुठी संस्थानका कर्मचारीलाई समेत कारवाही दायरामा ल्याउनुपर्ने बताएका छन् । ‘हामीले यो मसानघाटको जग्गा मसानघाटकै नाममा हुनुपर्छ व्यक्तिको नाममा बनेको किर्ते पुर्जा बदर गरेर सार्वजनिक गर्नुपर्छ भनेर लागेका छौ’ वडाध्यक्ष खत्रीले भने । बारामा गुठी बाहेकका २४ सय ५४ बिगाहा सार्वजनिक जग्गा छ । स्थानिय तहहरुले आफु मातहत रहेका सार्वजनिक जग्गाको संरक्षणमा चासो नदेखाउदा करोडौ मुल्य पर्ने सार्वजनिक जग्गा भुमाफियाहरुले किर्ते पुर्जा बनाएर भोगचलन गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here