रौतहट,रौतहटको वन क्षेत्र दिन प्रतिदिन अतिक्रमणको चपेटामा परेको छ । अघिल्लो ४ वर्षको अवधिमा जिल्लामा ३ सय ४३ हेक्टर वन अतिक्रमणमा परेको हो ।डिभिजन वन कार्यालय रौतहटमा तथा सरोकारवाला निकायहरुले अतिक्रमण नियन्त्रण गर्न नसक्दा अतिक्रमण बढेको तथ्याङ्कले देखाएको छ ।

डिभिजन वन कार्यालय रौतहटमा आर्थिक वर्ष २०७६-०७७ मा २ हजार ८ सय ७४ हेक्टर जमिन अतिक्रमणमा परेको तथ्याङ्क रहेको कार्यालयका सहायक वन अधिकृत राजेश साहले जानकारी दिनुभयो ।हालको मधेस प्रदेशका वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार ३ हजार १ सय ९० हेक्टर जंगल अतिक्रमणमा परेको जनाइएको छ । यो तथ्याङ्क अनुसार रौतहटमा ४ वर्षको अवधिमा ३ सय ४३ हेक्टर जमिन अतिक्रमणमा परेको देखिएको हो ।
मधेस प्रदेशमै सबैभन्दा बढी वन अतिक्रमण रौतहटमा नै भएको तथ्यङ्कबाट देखिन आएको छ । मधेस प्रदेश वन मन्त्रालयका तथ्याङ्क अनुसार सप्तरीमा ७.२५ हेक्टर, सिरहामा ९ सय ९३.१४० हेक्टर, धनुषामा ८ सय ७२ हेक्टर, महोत्तरीमा ३ सय २९.८० हेक्टर, सर्लाहीमा १ सय ६४.७८ हेक्टर, रौतहटमा ३ हजार १ सय ९०.५२० हेक्टर, बारामा ०.३४० हेक्टर, पर्सामा १ सय ३४.३२० हेक्टर वन अतिक्रमण भएको मन्त्रालयको तथ्याङ्ग छ ।

यता रौतहटको वन क्षेत्रमा अतिक्रमण गरी घरटहरा बनाउने कार्य तिव्र रुपमा बढिरहेको भएपनि सम्बन्धित निकाय त्यस्ता घटनामा बेखबर रहेको पाइएको छ । सुकुम्वासीका नाममा जिल्लाको विभिन्न वन क्षेत्रमा पक्की घरहरु बन्न थालेका छन् । वन क्षेत्रको खाली र पर्ति जमिन अतिक्रमण गरेर खेती लगाउने र घर निर्माण गरेर बस्ती बसाउन थालिएको हो ।
जिल्लाको चन्द्रनिगाहपुर, जंगलसैया, गैडाटार, नुनथर, जुडीवेला, बृन्दावन सब डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्र अतिक्रमण गरी पक्की घरहरू बनाउने क्रम बढेको हो । जंगलका हरिया रुखहरु तस्करले काटेर लगेपछि खाली रहेको जमिनमा सुकुम्वासीहरूले धमाधम घरहरू बनाउन थालेका हुन् ।
चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनाको कोटीहोम नजिकै रंगपुर साझेदारी वन क्षेत्रमा दर्जनौँ पक्कीघरहरू बनेका छन् । केही वर्षअघि झुपडी बनाएर बसेका व्यक्तिहरूले नै अहिले पक्की घर बनाउन थालेका हुन् । वनको जमिनमा लाखौँ खर्चेर पक्की घर बनाइएको पनि भेटिएको छ । वन क्षेत्रमा बस्दै आएको मानिसले भने आपूmहरूलाई सरकारले व्यवस्थित बसोवासको व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् । रंगपुर साझेदारी वन अन्तर्गतकै चन्द्रपुर– ७ को नयाँबस्ती कटानीमासमेत वन अतिक्रमण गरेर खेती गरिएको छ ।रौतहट जिल्लाको २९ हजार ४ सय हेक्टर वनक्षेत्र छ । एक वर्षअघिको तथ्याङ्कमा जिल्लाको विभिन्न स्थानहरूमा ३ हजार ५ सय हेक्टर वन अतिक्रमण भएको छ । त्यस मध्ये १ हजार ६ सय हेक्टरभन्दा बढी चुरे क्षेत्रको वन अतिक्रमण परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
जिल्लाको बेतौना, वनबहुहरी, गंैडाटार, जुडिबेला, कनकपुर, जंगलसैया, चन्द्रनिगाहपुर, सन्तपुर, रंगपुुर, मैरा, बलरीखोर, बागमति र भोलनटार, महोदेवडाडा, मोरगे, हिलेखोला क्षेत्रमा बढी वन अतिक्रमण भएको छ ।
अतिक्रमण गरेर घर टहरा बनाएर बसेकाहरूले पछिल्ले समय वन कर्मचारीलाई नै धम्क्याउने, थर्काउने गरेको वन कर्मचारीहरू बताउँछन् । अतिक्रमणकारीहरूले निर्धक्कसँग वन क्षेत्रमा खेती गरेका छन् घर बनाएका छन् ।
जिल्लाको उत्तरी भेगमा रहेको भोलनटारमा तिन हजार हेक्टर भन्दा बढी वन क्षेत्र मासेर बस्ती बसेको छ । अनाधिकृत रुपमा बसेको बस्तीमा खानेपानी, विजुली, विद्यालयलगायतको सुविधा उपलब्ध गराइएको हुँदा अतिक्रमण हटाउन समस्या भएको वन सुरक्षाकर्मीहरुले बताएका छन ।मधेश प्रदेशमा ५ हजार ६ सय ९२ हेक्टर वन अतिक्रमण भएको मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

Leave a Reply