तस्विर : गुगल

सिरहा । लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

करिब २५ वर्षीय सन्तुलन पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा हुन् । प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी उनले सोही वडाका गुलाम गौस ९अली० लाई आमा बिरामी रहेको समस्या देखाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ ।

पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सन्तुलनले खल्ती एप, बैंक खातामा रकम पठाउन लगाएर तथा नगदमार्फत गरी उक्त रकम लिएको प्रहरीको भनाइ छ ।

पीडित गुलामले पटक–पटक रकम फिर्ता माग्दा सन्तुलनले आजभोलि भन्दै आलटाल गर्दै आएको तर हालसम्म रकम फिर्ता नगरेको आरोप लगाएका छन् । सोही विषयलाई लिएर उनले प्रहरीमा उजुरी दिएका थिए ।

सन्तुलनमाथि गुलाम गौससँग मात्रै नभई अन्य व्यक्तिसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार उनीविरुद्ध अन्य व्यक्तिहरूबाट समेत ठगीसम्बन्धी उजुरी तथा आरोप रहेको छ ।

सूचना अधिकारी पालले मिर्चैया प्रहरीले पाँच दिनअघि नै उनलाई पक्राउ गरे पनि पक्राउसम्बन्धी विवरण आफूलाई बिहीबार मात्रै प्राप्त भएको बताए । पक्राउ परेका यादवमाथि म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसैबीच, पक्राउबारे सार्वजनिक गर्न प्रहरीले ढिलाइ गर्नुमा राजनीतिक दबाब रहेको स्रोतको दाबी छ । पूर्वमन्त्री मातृका प्रसाद यादवले समेत आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब दिइरहेको स्रोतको दाबी छ ।

Leave a Reply