नरेश गुप्ता

बरियारपुर,जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्रकुमार साहले स्थानीय तहमा देखिएको बिवाद चाडै समाधान गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति बाराको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका विभिन्न पालिकामा निर्वाचित स्थानीय प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको लागि शुक्रवार आयोजना गरिएको सम्मान तथा परिचयात्मक कार्यक्रममा बोल्दै साहले सो कुरा बताउनुभएको हो ।

जिल्लाका केही पालिकामा सामान्य खालको बिवाद देखिएको बताउदै संयोजक साहले सबैको सहमतिमा सहकार्यको वातावरण तयार पार्न आफू लागि पर्ने बताउनुभयो । ‘मैले त पुलको काम मात्रै गर्ने हो, उहाँले भन्नुभयो, विवाद हल गरेर काम गर्ने वातावरण निर्माण गर्ने मुख्य भूमिका स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यहरुको नै हो ।’

बाराका अधिकांश स्थानीय तहमा प्रमुख, उपप्रमुखको कार्यपालिकामा बहुमत नरहेकोले सबै मिलेर अघि बढनुको विकल्प नरहेको पनि जिल्ला समन्वय समितिका संयोजक साहले बताउनुभयो । स्थानीय तहको विकास र सम्वृद्धिको लागि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा कसरी विकास गर्न सकिन्छ भनेर सोच्नु पर्ने साहको भनाइ थियो ।

जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित सम्मान तथा परिचयात्मक कार्यक्रममा जिल्ला संयोजक साह, उपसंयोजक चण्डिका उप्रेती र महिला सदस्य प्रभादेवी साहको उपस्थितिमा जिल्लाका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवार, उपप्रमुख नजबु शेहर, देवताल गापा अध्यक्ष उदयचन्द यादव, फेटा गापा अध्यक्ष रुस्तम अंसारी, बिश्रामपुर गापा अध्यक्ष जुल्फकार अली भुट्टो, प्रसौनी गापा अध्यक्ष बिनोद पटेल, कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह, उपप्रमुख रौषण प्रविन, पचरौता नगर प्रमुख जलान्धर सिह, करैयामाई गापा अध्यक्ष शम्भु यादव, बारागढी गापा अध्यक्ष अशोक जैसवाललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here