सिमरा,बाराको जीतपुरमा मंगलवार साँझ सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जीतपुरसिमरा वडा नम्बर ७ स्थित राजमार्गमा रोकिराखेको मोटरसाइकललाई सुमोले ठक्कर दिँदा युवकको मृत्यु भएको हो ।सुमोको ठक्करबाट मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का २५ वर्षीय दीपक नारायण शर्मा रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।जीतपुरबाट बकुलियातर्फ जाने सडक नजिक जेब्राक्रसिङमा रोकिराखेको ना५९प नम्बरको मोटरसाइकललाई ना१ज ३५२७ नम्बरको सुमोले ठक्कर दिएको हो ।ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा मृत्यु भएको स्थानीयको भनाई छ । मोटरसाइकललाई ठक्कर दिने सुमोसहित चालक बारा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय सुकेश्वर राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















