वीरगंज । वीरगंजको आदर्शनगरस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १२ जना नेपालीलाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१० आदर्शनगर चोकस्थित होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेमा क्यासिनोभित्र जुवा खेलिरहेका ९ जना र उनीहरूलाई जुवा खेलाउन संलग्न ३ जना कर्मचारी रहेका छन् ।

क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराएर जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह पक्राउ परेका छन् ।

त्यस्तै, पर्सागढी नगरपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरी, क्यासिनोमा कर्मचारीका रूपमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक भट्ट, वीरगन्जका ३७ वर्षीय प्रभु तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दीपमराज पराजुलीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply