काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्वासी बस्ती हटाएर मात्रै समस्या समाधान नहुने बताएका छन् । उनले उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्वासीको दिगो व्यवस्थापन हुन नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

सरकारले वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सुकुम्वासी समस्यालाई आर्थिक, सामाजिक र मानवीय दृष्टिकोणबाट समाधान गर्नुपर्ने बताएका हुन् ।

उनका अनुसार ग्रामीण क्षेत्रमा निर्वाहमुखी अर्थतन्त्र कमजोर हुँदै जाँदा रोजगारीको खोजीमा सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा आवासविहीन बन्ने गरेका छन् ।

भट्टराईले सहरको अर्थतन्त्र सञ्चालनमा सुकुम्वासी तथा न्यून आय भएका श्रमिकको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । उनीहरूले सरसफाइ, घरेलु काम, हेरचाह सेवा र ढुवानीलगायत क्षेत्रमा आवश्यक श्रम उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

उनले विश्वका विभिन्न देश र सहरमा सहरीकरणको क्रममा सुकुम्वासी समस्या उत्पन्न हुने गरेको भन्दै त्यसको समाधान आधुनिक राज्यले कानुनी र न्यायपूर्ण तरिकाबाट गर्नुपर्ने धारणा राखेका छन् ।

‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन,’ भट्टराईले भनेका छन् ।

सुकुम्वासी समस्यालाई सहरीकरणसँग जोडिएको ऐतिहासिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले गरिब तथा आवासविहीन नागरिकलाई सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नु आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार संविधान र समावेशी लोकतन्त्रको मर्मअनुसार सुकुम्वासी समस्याको दिगो समाधान खोजिनुपर्छ । बलपूर्वक बस्ती हटाउनेभन्दा पनि वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूको आवास र जीविकोपार्जन सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ ।

Leave a Reply