वीरगञ्ज,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएका छन ।पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । उहाँले जगरनाथपुर गाउँपालिका– २ स्थित नेपाल–भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो । उहाँले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘अवैध कारोबार नियन्त्रणमा सम्झौता नगर्न निर्देश गर्छु’, उहाँले भन्नुभयो, ‘सीमावासीसँग निरन्तर छलफल र गुनासो सुन्ने व्यवस्था गरी सुमधुर सम्बन्ध कायम राख्न पनि अनुरोध गर्दछु ।’टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका– २ का वडा अध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु आग्रह गर्नुभयो ।


















