वीरगञ्ज,डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटेपछि शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक उद्योग बन्द भएका छन् ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता तिरेका छैनन्। त्यसपछि दुवै उद्योगको विद्युत् आपूर्ति रोकिएको हो ।
विद्युत् कटौतीपछि उद्योग सञ्चालन असम्भव बनेपछि शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले दुवै उद्योगका कर्मचारीलाई बिदामा पठाइएको जानकारी दिनुभएको छ । उहाँका अनुसार जगदम्बा स्टिलमा २२ सय र सिन्थेटिकमा ६ सय कर्मचारी कार्यरत छन् ।

“अहिले सबै कर्मचारीहरूलाई बिदामा राखेका छौँ,” अग्रवालले भन्नुभयो, “छोटो समयका लागि मात्र बन्द भयो भने तलब भत्ता दिन सकिन्छ, तर लामो समयसम्म बन्द रह्यो भने त्यसबेला निर्णय गरिनेछ ।”
उहाँका अनुसार जगदम्बा स्टिलले मासिक ८० हजार टन स्टिल र सिन्थेटिकले २ सय टन धागो उत्पादन गर्दै आएको थियो। अग्रवालले प्राधिकरणले विद्युत् अतिरिक्त उपभोगको प्रमाण देखाउन नसकेको दाबी गर्दै भन्नुभयो, “यदि प्रमाण दिन सके तिर्छौं, तर प्रयोग नै नगरेको बिजुलीको महसुल तिर्नु अन्याय हो ।”

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् लिएका तर प्रिमियम शुल्क नतिर्ने देशभरका २५ उद्योगको बिजुली काटेको जनाएको छ । प्राधिकरणले कात्तिक ४ गते ६ उद्योग र कात्तिक ७ गते थप १८ उद्योगको लाइन काटेको थियो ।
यसअघि नै एभरेस्ट पेपर मिलले मासिक विद्युत् महसुल नतिरेको र लामो समयदेखि बन्द रहेकाले त्यसको पनि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply