वीरगन्ज, १० मंसिर । वीरगन्जमा जनरल स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ रामटोल निवासी अन्दाजी २० वर्षीय सुनिल मलीक रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका–६ हनुमान टोलस्थित निधि जनरल स्टोरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब १० बजे उक्त पसलमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा मलीकको संलग्नता खुलेपछि उनको घरमा खानतलासी गर्दा चोरी भएका सामान फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले मलीकको साथबाट चाँदीका २५ थान सिक्का, तामाको एक थान कचौरा र पाँच सय रुपैयाँ दरका दुई थान नेपाली नोट बरामद गरेको जनाएको छ।
पक्राउ परेका युवकसँग घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















