सिमरा,बाराको सिमराबाट मानवसेवा आश्रमको वीरगञ्ज शाखाले एकजना बेवारिसे पुरुषको उद्धार गरेको छ ।
वीरगञ्जस्थित मानवसेवा आश्रमले जीतपुरसिमरा उपमहानगरपालिका– २ सिमरास्थित डिभिजन वन कार्यालयअगाडि शुक्रवार राती मनोसामाजिक अपाङ्गता भएका एकजना अन्दाजी ४० वर्षीय पुरुषको उद्धार गरेको हो ।
उद्धार गरिएका पुरुषले आफ्नो नाम र ठेगाना स्पष्ट बताउन नसकेको आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो । उद्धारपछि ती व्यक्तिलाई मानवसेवा आश्रम वीरगञ्ज ल्याइएको गुप्ताले बताउनुभयो ।
आश्रमका उनको सरसफाइ र नुहाइ–धुहाइ गरेर मनोरोग विशेषज्ञ डा. भरत गोइतको निगरानीमा औषधि उपचार सुरु गरिने गुप्ताले बताउनुभयो ।

उद्धार कार्यमा आश्रमका गुप्तासँगै सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवलदार अरविन्दकुमार दास र स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

आश्रमका संयोजक गुप्ताका अनुसार, हाल मानवसेवा आश्रम वीरगञ्जमा ४५ जना महिला सहित कुल ५४ जना बेवारिसे तथा असहाय व्यक्तिहरू आश्रित छन् । आश्रमले सडकमा भेटिएकाहरूको उद्धार, सरसफाइ, औषधि उपचार र हेरचाह गर्दै आएको छ । साथै, सम्भव भएसम्म उनीहरूलाई आफ्नो परिवारसँग पुनर्मिलन गराउने कार्यमा पनि आश्रम सक्रिय रहेको गुप्ताले बताउनुभयो ।मानवसेवा आश्रमले बेवारिसे तथा असहाय व्यक्तिहरूको संरक्षण र पुनस्र्थापनामा निर्वाह गरेको भूमिकाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

सौजन्य तस्बिर

Leave a Reply