सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारीसाधनलाई प्रहरीले तीन दिनपछि नियन्त्रणमा लिएको छ।
गत मंगलबार साँझ निपाने चोकमा साइकलमा सवार वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला परेपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको छ। उक्त गाडीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रहरी अनुसन्धानका क्रममा दुर्घटनामा संलग्न गाडी धनगढीमाई नगरपालिका–९ महुवा डाँडाका पल्टु रामको रहेको खुलेको छ। प्रहरीले बागमती प्रदेश ०१–०२५ च ७३९६ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।
उक्त दुर्घटनामा साइकलयात्री महराको मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयले फरार चालक र सवारीसाधनको खोजी गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शनसमेत गरेका थिए।
घटनामा संलग्न चालकको पहिचान तथा दुर्घटनासम्बन्धी अन्य विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















