रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा बसोबास तथा विभिन्न उद्देश्यले भ्रमणमा आउने विदेशी नागरिकको गतिविधिमाथि निगरानी कडा बनाउने भएको छ। प्रशासनले विदेशी नागरिकलाई भिसाको सर्त र नेपालको प्रचलित कानुन पूर्ण रूपमा पालना गर्न सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै विदेशी नागरिकलाई आफ्नो देशको राहदानी र वैध भिसासहित नेपालमा बस्न तथा भिसामा उल्लेख गरिएको उद्देश्यअनुसार मात्र गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार भिसामा तोकिएको उद्देश्यभन्दा फरक गतिविधि गर्ने, अनुमति नलिएका काममा संलग्न हुने वा नेपालको प्रचलित कानुनविपरीत कार्य गरेको पाइएमा अध्यागमनसम्बन्धी कानुनअनुसार कारबाही गरिनेछ।
जिल्लामा भ्रमण, व्यापार व्यवसाय, अध्ययन अनुसन्धान, सामाजिक सेवा लगायतका विभिन्न प्रयोजनले आउने विदेशी नागरिकले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ।
यसैगरी विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित बनाउन घरधनी, होटल तथा पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्था र कम्पनीलाई पनि प्रशासनले आग्रह गरेको छ। उनीहरूले आफ्नो सम्पर्कमा रहेका विदेशी नागरिकको आवश्यक विवरण राखी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधिको अभिलेख राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको सहयोग मागेको छ।
विदेशी नागरिकको गतिविधिलाई कानुनी दायरामा राख्ने र सम्भावित गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ।
















