आर.के. चौधरी
सखुवाप्रसौनी । गर्भवती महिला तथा गर्भमा रहेको शिशुको स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यसहित पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बहुसूक्ष्म पोषण (एमएमएस) कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।
गाउँपालिकाको सभाहलमा मंसिर ७ गते आयोजित पालिकास्तरीय बैठकमा गर्भवती महिलालाई आवश्यक पोषण सेवा उपलब्ध गराउनेदेखि कार्यक्रमको कार्यान्वयनलाई व्यवस्थित बनाउनेसम्मका विषयमा छलफल भएको हो।
सामाजिक विकास प्रवर्द्धन केन्द्रको आयोजनामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोको अध्यक्षता रहेको थियो। बैठकमा केन्द्रकी संयोजक ममता ओझा, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मी सहभागी थिए।
छलफलका क्रममा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले गर्भावस्थामा आवश्यक पर्ने सूक्ष्म पोषक तत्त्वको महत्त्वबारे जानकारी दिएका थिए। उनीहरूले एमएमएस चक्कीले गर्भवती महिलाको पोषण आवश्यकता पूरा गर्न तथा पोषणसम्बन्धी समस्या न्यूनीकरण गर्न पुर्याउने सहयोगबारे पनि प्रकाश पारेका थिए।
बैठकमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामार्फत गर्भवती महिलासम्म सेवा पुर्याउने, जनचेतना अभिवृद्धि गर्ने र स्थानीय तहका सरोकारवाला निकायबीच जिम्मेवारी तथा समन्वयलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो।
गर्भवती महिलाको पोषणमा सुधार ल्याउनुका साथै मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न आवश्यक पैरवी र योजना निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको आयोजकले जनाएको छ।
















