काठमाडौँ । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
उच्च स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको हो। अनुसन्धानका क्रममा कागजातबारे छानबिन अघि बढेपछि उनी सम्पर्कविहीन भएको र हाल फरार रहेको स्रोतको दाबी छ।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित थप ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि प्रहरीले यही प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रवीण तिवारी र सर्लाहीको मलंगवा–४ का रामपुकार तिवारी रहेका छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानका क्रममा संलग्नता देखिएको भन्दै उनीहरूलाई पक्राउ गरी ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो। उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा सम्बन्धित अधिकारीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ।
श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा आवश्यक कानुनी कदम नचालेको तथा गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

















