काठमाडौँ । नेपाली क्रिकेट टोलीले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
लर्ड्समा आयोजना हुने उक्त खेल नेपाली क्रिकेटका लागि विशेष अवसर हुनेछ। सोही दिन लर्ड्समा मिडलसेक्सको टी–२० ब्लास्ट प्रतियोगिताअन्तर्गतको खेल पनि आयोजना हुनेछ। एमसीसीका अनुसार पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एउटै दिन एउटै मैदानमा हुन लागेको यो पहिलो अवसर हुनेछ।
बंगलादेशको पुरुष टोलीले लर्ड्समा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले भने यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग लर्ड्समै टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो।
इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि विभिन्न खेल खेल्ने तालिका रहेको छ। ती खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले मान्यता दिनेछ।
निर्धारित तालिकाअनुसार नेपालले सन् २०२७ जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ।
नेपालले जुन ६ मा वर्म्स्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ९ मा आयरल्यान्डसँग टी–२० खेल्नेछ भने जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग थप दुई टी–२० खेल खेल्ने कार्यक्रम छ।
एमसीसीका अनुसार नेपाल र बंगलादेशबीचको लर्ड्स खेल नेपाली तथा बंगलादेशी दर्शकलाई लक्षित गर्दै टेलिभिजन प्रसारणको समयअनुकूल तय गरिएको हो। जुन ३ कै दिन हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु खेलतालिका सार्वजनिक भएपछि निर्धारण गरिनेछ।

















