काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै त्रिभुवन राजपथमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तीन जना र घाइते सातै जनाको पहिचान खुलेको छ।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही स्थानकी २५ वर्षीया अनुसा लामा रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर रहेका छन्। घाइते कालुमान लोप्चन दुर्घटनाग्रस्त सुमोका चालकसमेत हुन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना।१ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो।
दुर्घटनालगत्तै सुरक्षाकर्मीको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएको थियो। घाइतेहरूको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

















