रौतहट । रौतहटको मौलापुर नगरपालिका–सोनरनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको काम रोकिएको भन्दै आम जनता पार्टीका सचिव तथा आम दलित मोर्चाका राष्ट्रिय अध्यक्ष ठागा दासले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

संघीय सरकारले बस्ती निर्माणमा अवरोध गरेको आरोप लगाउँदै दासले प्रधानमन्त्री बालेन्द्र शाहसँग निर्माण कार्य रोक्नुको कारण सार्वजनिक गर्न माग गरेका छन्।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षौंदेखि आवासविहीन अवस्थामा रहेका दलित परिवारका लागि सुरु गरिएको बस्ती निर्माण रोक्नु दुःखद भएको बताए। विपन्न तथा आवासविहीन नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएको उनको भनाइ छ।

दासले संविधानले आवासको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै दलित तथा विपन्न समुदायको आवास योजनामा अवरोध सिर्जना गर्न नहुने बताए।

स्थानीय तहले अघि बढाएका विकास निर्माणका योजनामा संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न नहुने धारणा राख्दै उनले यस्तो कदमले स्थानीय सरकारको अधिकारसँगै नागरिकको संवैधानिक हकमाथि समेत प्रश्न उठाएको बताए।

आवास निर्माण केवल भौतिक संरचना बनाउने विषय नभई नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारसँग जोडिएको उल्लेख गर्दै दासले राजनीतिक आग्रह–पूर्वाग्रह वा प्रशासनिक कारण देखाएर दलित समुदायको आवासको सपना रोक्न नहुने बताए।

उनले सोनरनियास्थित एकीकृत दलित बस्ती निर्माण कार्य तत्काल सुचारु गर्न र दलित समुदायको सम्मान, सामाजिक न्याय तथा संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

Leave a Reply