कलैया,बारा प्रहरीले लागूऔषध गाँजसहित बुधवार बिहान दुई महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका २ का अन्दाजी ५५ वर्षीय रम्भा देवी मुखिया, उनका छोरा ३८ वर्षीय जोगिन्द्र मुखिया र बिन्दवासीनी गाउँपालिका २ का ६० वर्षीय ममतादेवी मुखिया रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले प्रसौनी २ स्थित बजार क्षेत्रबाट भलुवहीतर्फ पैदल जाँदै गरेको उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेकी रम्भादेवीको साथबाट अन्दाजी तिन किलो एक सय ४१ ग्राम, जोगेन्द्रको साथबाट अन्दाजी दुई किलो ६४० ग्राम र ममता देवीको साथबाट अन्दाजी दुई किलो ६५९ ग्राम र ७९८ ग्राम झोलाबट गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।बरामद भएका लागूऔषधसहित तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।