जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा पनि राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन। सरकारको नेतृत्व कसले गर्ने र कुन दलहरूबीच गठबन्धन बनाउने भन्ने विषय टुंगो नलाग्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ।

कुनै पनि दलसँग एकल सरकार गठनका लागि आवश्यक बहुमत नरहेकाले कम्तीमा तीनदेखि चार दलबीच सहकार्य हुनुपर्ने अवस्था छ। तर, सत्ता समीकरण र नेतृत्वको विषयमा दलहरूबीच सहमति नहुँदा राजनीतिक अनिश्चितता बढेको छ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका छन्।

समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए। उनका अनुसार विभिन्न दलबीच छलफल जारी रहे पनि नेतृत्वको विषयमा ठोस निष्कर्ष निस्किएको छैन।

“विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ। कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन,” भट्टराईले भने। उनले नयाँ सरकार गठनमा आफूहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको पनि बताए।

मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी ९जसपा० नेपालले निर्णय लिन नसक्दा पनि सरकार गठन प्रक्रिया प्रभावित भएको छ। एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको बताइए पनि उक्त दलले अहिलेसम्म आफ्नो धारणा स्पष्ट पारेको छैन।

यसअघि पटक–पटक सरकार परिवर्तन भएको भन्दै आगामी निर्वाचनको मुखमा सरकारको नेतृत्व लिन जसपा नेपालका नेताहरू अनिच्छुक देखिएका छन्। जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए।

यसैबीच, जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले केही दिनअघि आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए। जनमत पार्टी सरकारमा सहभागी नहुने अवस्थामा नयाँ सत्ता समीकरण थप चुनौतीपूर्ण देखिएको छ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य छन्।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य अनिवार्य छ। तर, नेतृत्वको विषयमा सहमति नजुट्दा मधेश प्रदेशको आगामी सत्ता समीकरण अझै अनिश्चित बनेको छ।

Leave a Reply