वीरगंज । हिउँदे बालीका लागि भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरिएको रासायनिक मलको सम्पूर्ण आयात प्रक्रिया पूरा भएको छ। गत भदौ ३० गतेदेखि वीरगन्ज नाकाबाट भित्रिन थालेको मल आयात भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ।

भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ७ हजार ९ सय ५४ टन र २० हजार टन डीएपीमध्ये ५ हजार ८ सय ७ टन मल वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले प्राप्त गरेको छ। कुल खरिदको करिब ३८ प्रतिशत मल वीरगन्ज कार्यालयको भागमा परेको हो।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माले भारतबाट खरिद गरिएको सबै मल नेपाल भित्रिसकेको जानकारी दिए। वीरगन्ज कार्यालयका लागि छुट्याइएको मल प्राप्त भइसकेको र बाँकी मल विराटनगर तथा भैरहवा प्रादेशिक कार्यालयलाई उपलब्ध गराइएको उनले बताए।

भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाटै आयात गरिएको थियो। वीरगन्जमा भित्रिएको उक्त मल ढुवानी गरेर भैरहवा पठाइएको हो। विराटनगर कार्यालयका लागि छुट्याइएको मल भने विराटनगर नाकाबाटै आयात गरिएको शर्माले जानकारी दिए।

आयात भएको मल आगामी हिउँदे बालीका लागि किसानलाई वितरण गरिनेछ। विशेषगरी गहुँ तथा तेलहन बाली लगाउने समयमा युरिया र डीएपी मलको माग बढ्ने भएकाले सोहीअनुसार वितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ।

हिउँदे खेतीको मुख्य समयमा मल अभाव हुन नदिन आयात भएको मल समयमै किसानसम्म पुर्‍याउने गरी वितरणको गृहकार्य भइरहेको प्रमुख शर्माले बताए।

Leave a Reply