कलैया,बाराको महागढीमाई नगरपालिका बरियारपुरमा लागेको एक महिने गढीमाई मेलाको अवधि लम्बाइएको छ ।
यसअघि मंसिर ३० गते आइतवार समापन हुने भनिएको मेला अब माघ ५ गतेसम्म चल्ने जनाइएको छ । मेलाको पूर्वनिर्धारित अवधि सकिए पनि माघ ५ गते मात्रै मेलाको औपचारिक रुपमा समापन हुने मेला समितिले जनाएको छ ।
श्रद्धालुहरुले गढीमाईमा भाकल चढाउन अझै बाँकी रहेकोले दर्शनार्थीहरुको समयलाई ध्यानमा राखेर माघ ५ गतेसम्म मेलाको अवधि बढाइएको मेला समितिले जनाएको छ । श्रद्धालुहरुले पहिलेपहिले पनि माघ ५ गतेसम्म नै गढीमाईमा भाकल चढाउने गर्दैआएका थिए ।
प्रत्येक पाँच÷पाँच वर्षको अन्तरालमा लाग्ने यो मेला यस वर्ष मंसिर महिनाको १ गतेबाट शुरु भएको थियो ।
मनोकामना पूरा हुने विश्वासमा मेलामा श्रद्धालुहरुले हजारौं राँगा तथा बोकाको बली दिने गरेका छन । यस पटकको मेलामामंसिर २१ देखि २५ गतेसम्म राँगा, बोका लगायत हजारौंपशुपक्षीको बली दिइएको थियो । यो वर्ष ६ हजारभन्दा बढीको संख्यामा राँगाको बली दिइएको मेला समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यसपटक मेलामा बली दिने मारकलाई हतियार (खुकुरी) प्रदर्शन र ड्रोन उडाउन रोक लगाएको थियो ।गढीमाई मेलामा अहिलेसम्म करिब २ करोड ५० लाख दर्शनार्थीले मेलाको अवलोकन गरिसकेको गढीमाई मेला मुल व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रासद यादवले आगामी माघ ५ गतेसम्म थप ५० लाख श्रद्धालुले मन्दिरको दर्शन गर्ने बताउनुभयो ।