वीरगञ्ज । पर्साको वीरगञ्जमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएको एक भट्टी प्रहरीले नष्ट गरेको छ। प्रहरीले भट्टीबाट मदिरा बनाउन प्रयोग हुने १ हजार ३०० लिटर कच्चा पदार्थ र ३५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन केन्द्रमा छापा मारिएको हो।
अवैध रूपमा मदिरा उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भट्टी नष्ट गरी त्यहाँ रहेका कच्चा पदार्थ तथा तयारी मदिरा नियन्त्रणमा लिएको थियो। बरामद सामग्री प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर मल्लले घरेलु मदिराको अवैध उत्पादन, बिक्री वितरण र ओसारपसार स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको बताएका छन्।
उनका अनुसार मापदण्डविपरीत विभिन्न रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
प्रहरीले अवैध मदिरा उत्पादन तथा कारोबारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।

















