बारा । घाँस काट्ने क्रममा रुखबाट खसेर बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाका ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ८ः१० बजे आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक खसेका थिए ।

रुखबाट खसेर गम्भीर घाइते भएका थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले बिहान ८ः४९ बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ९ः३७ बजे घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।

Leave a Reply