कलैया,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर– ३ मा नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट र घरदैलोलाई तीव्रता दिनुभएको छ ।आज उहाँले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत कलैया उपमहानगरपालिका– १ कलैया बजारमा पुगेर मतदातासँग संवाद गर्नुभएको हो । घरदैलोका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, कृषि लगायतका स्थानीय समस्याबारे छलफल गर्दै आफ्ना एजेन्डा प्रस्तुत गर्नुभएको छ ।
मंसुरले विकास, समृद्धि र सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ । मन्सुरको सचिवालयका अनुसार बुधबार कलैया उपमहानगरपालिका– १० मटिअर्वा टोलमा घरदैलो कार्यक्रम तय गरिएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति मनोज भट्ट, सहसचिव राजेश रौनियार, रामानन्द यादव, समानुपातिक उम्मेदवार प्रियंका दास, राजेन्द्र जयसवाल, राजेश सिंह, बबिता जयसवाल, हरिओम साह, प्रविन सिंहलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

















