नरेश गुप्ता
बरियारपुर,बाराको महागढीमाई नगरपालिकामा रहेको एक मात्र प्राविधिक नमुना विद्याालयले आफ्नो शैक्षिक गुणस्तर सुधार एव विद्यार्थी सुरक्षाको लागि सिसि क्यामरा जडान गरेको छ ।
शिक्षण सिकाइ क्रियाकलामा थप सहयोग पुग्ने विश्वासमा विद्यालयका सबै कक्षा कोठामा सिसि क्यामरा जडान गरिएको प्रधानाध्यापक मनोजकुमार साहले बताउनुभयो । सिसि क्यामरा जडान भएसंगै विद्यालयको शैक्षणिक वातावरणमा पनि राम्रो बनेको विद्यार्थीहरुको भनाइ छ । ‘क्यामरामा देखिने भएपछि विद्यार्थीले पनि जथाभावी गर्न पाउदैनन, कक्षा १० मा अध्यनरत आयुश गुप्ताले भन्नुभयो, विद्यार्थी र शिक्षक पनि मर्यादित बनेका छन र पठनपाठनमा पनि सुधार आएको छ ।’
विद्यालयले सिकाइ क्रियाकलापमा सुधार गर्ने उद्देश्यले शिक्षक र विद्यार्थीको आचारसंहिता, अनिवार्य पोषाक, परिचय पत्रसमेत लागु गरेको छ । प्रधानाध्यापक मनोजकुमार साहले जिम्मेवारी सम्हालेपछि विद्यालयमा सुधारको प्रयास हुदै आएको हो । विद्यालयमा गुणस्तरीय पठनपाठनको लागि शुरु भएको प्रयासले अभिभावकहरु पनि खुसी भएका छन ।
शैक्षिक गुणस्तरमा सुधार भएपछि विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्या पनि बढेको छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले हाल एउटै कक्षामा पनि सेक्शन छुट्याएर कक्षा संचालन गर्न थालेको प्रअ साहले जानकारी दिनुभयो । बढेको विद्यार्थी संख्याको अनुपातमा शिक्षक भर्ना गर्ने तयारी पनि गरिएको प्रधानाध्यापक साहले बताउनुभयो ।
विद्यालयले कक्षा ९ देखि नै प्राविधिक विषयको पठनपाठन शुरु गरेको छ । प्राविधिकतर्फ कक्षा ११ मा ३६ जना विद्यार्थी अध्ययनरत छन । त्यसैगरी विद्यालयले शिक्षा, विज्ञान र बाणिज्य संकायतर्फ पनि पठनपाठन शुरु गरेको प्रअ साहले जानकारी दिनुभयो ।