सिमरा । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र समावेशितालाई प्रवर्द्धन गर्न समाचार तथा सञ्चार सामग्रीमा मर्यादित र सम्मानजनक शब्दावली प्रयोग गर्न सञ्चारकर्मीलाई अभिमुखीकरण गरिएको छ।

नेत्रहीन युवा संघ नेपालको आयोजनामा सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रममा संघ बाराका अध्यक्ष सुदीप चौधरीले समाचार, लेख तथा सम्पादकीय तयार गर्दा अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान, अधिकार र गोपनीयतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले विभिन्न संघसंस्थाको प्रयासले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणमा सुधार हुँदै गए पनि धार्मिक तथा सामाजिक परिवेशमा अझै नकारात्मक सोच र व्यवहार कायम रहेको बताउनुभयो। उहाँले सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिका सवाललाई प्राथमिकता दिनुपर्ने र उनीहरूको अधिकारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा संयोजक निलु महर्जन, नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सुनिल सिंह र नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले अपाङ्गता समावेशीकरण, सम्मानजनक शब्दावली तथा अपाङ्गमैत्री सञ्चार निर्देशिका, २०७३ लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानजनक सञ्चारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सिमरा घोषणापत्रसमेत सार्वजनिक गरिएको छ।

Leave a Reply