सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ का २० वर्षीय सुरेन्द्र यादव रहेका छन्।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको बा.प्र.०२–००५ प ३७०३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलमा पछाडि सवार दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३।०७ ग्राम र प्लास्टिकबाहेक १०।३९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ४ हजार रुपैयाँ नगद, दुई थान मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















