रौतहट । रौतहटको मौलापुर बजार क्षेत्रमा जङ्गली बाँदरको आक्रमण बढेपछि स्थानीय बासिन्दा, व्यवसायी र स्वास्थ्यकर्मी त्रसित बनेका छन् । बाँदरको आक्रमणबाट हालसम्म करिब १५ जना घाइते भएको बताइएको छ ।
मंगलबारदेखि बुधबार बिहानसम्म मौलापुर बजारस्थित स्मार्ट चोक आसपास बाँदरले घर, पसल तथा अस्पताल परिसरमा प्रवेश गरी मानिसमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।
बाँदरको आक्रमणबाट मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीसमेत प्रभावित भएका छन् । अस्पताल परिसरमै बाँदर प्रवेश गरी आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मीलाई नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको स्थानीयको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले बाँदरको आक्रमणबाट मानिसहरू घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीसँग जङ्गली बाँदर नियन्त्रण गर्न आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध छैनन् ।
बाँदर नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउन डिभिजन वन कार्यालय रौतहटलाई आग्रह गरिएको उनले जानकारी दिए ।
बजार क्षेत्रमै बाँदरको आक्रमण बढेपछि स्थानीयले मौलापुर नगरपालिका तथा सम्बन्धित सुरक्षा निकायसँग तत्काल नियन्त्रणको पहल गर्न माग गरेका छन् ।
बाँदरको आक्रमणबाट थप मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले शीघ्र आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ ।
















