सिमरा,प्रहरीले बाराको जीतपुरबाट शनिवार ४४ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) सहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षीय सुशिलादेवी र पोखरिया नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया पूजा देवी रहेका छन् ।जीतपुर बजारबाट सिमरातर्फ पैदल आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेत र लागूऔषध नियन्त्रण व्यूरो पर्साका प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले जीतपुरस्थित ललका पुल नजिकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये सुशिलादेवीको शरिरमा लुकाएर राखिएको अवस्थामा ४४ ग्राम चार सय मिलिग्राम खैरो हेरोईन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई सिमरास्थित ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।
















