काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडबारे सरकारले आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त गतिविधि प्रहरीको आन्तरिक अनुसन्धानका लागि भएको र त्यसबारे सरकारको अनुमति नरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रहरीको आन्तरिक सूचना चुहावट भएको विषयमा प्रकाशित समाचारको स्रोत र तथ्यबारे बुझ्न प्रहरीले सोधपुछ गरेको दाबी गरे।

उनका अनुसार प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने जस्ता भ्रामक सूचना कसरी बाहिर आए भन्ने विषयमा प्रहरीले आन्तरिक रूपमा जाँचबुझ गरेको हो।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा सरकारको निर्देशनमा यो काम भएको होइन। प्रधानमन्त्रीज्यूलाई पनि यसबारे जानकारी थिएन,’ प्रवक्ता पोखरेलले भने।

उनले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी हुनासाथ पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए। पत्रकारलाई पक्राउ वा नियन्त्रणमा लिइएको भन्ने दाबीसमेत उनले अस्वीकार गरे।

समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारमाथि गरिएको प्रहरी गतिविधिबारे भने सरकारको यो स्पष्टीकरण सार्वजनिक भएको हो।

Leave a Reply