निजगढ,नेकपा एमालेको ११ औं महाधिवेशनमा सचिव पदका आकांक्षीहरुको संख्या सबैभन्दा बढी हुने देखिएको छ ।
नेकपा एमालेका प्रभावशाली नेता पुरुषोत्तम पौडेलसहित २ दर्जनभन्दा बढीले सचिव पदमा आकांक्षा देखाएका छन । एमालेको दोस्रो विधान महाधिवेशनले स्थायी कमिटी खारेज गर्ने निर्णय गरेपछि सचिव पदका आकांक्षीको संख्या पनि बढ्ने देखिएको हो । उक्त निर्णयले हाल स्थायी कमिटीमा रहेका (पदाधिकारी बाहेक) २६ जना नेताहरु मध्ये धेरै सचिवमा उम्मेदवार बन्नुपर्ने अवस्था छ ।

विधानले गरेको व्यवस्था अनुसार हाल स्थायी कमिटी सदस्य रहेकाहरुलाई उक्त कमिटीबाट घटुवा भएर कि पोलिटब्युरो सदस्यमा बस्न तयार हुनुपर्ने हुन्छ, कि त बढुवाका लागि सचिव वा उपमसचिवमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अहिले सचिव रहेका कतिपय नेताहरु सचिवमै थन्किनुपर्ने अवस्था रहेको बेला नयाँले समेत पोजिसन खोज्दा आकांक्षीहरुको लर्को लाग्ने निश्चित देखिएको एमाले नेता कार्यकर्ताबिच चर्चा छ ।

गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले एमालेको विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाएको थियो भने स्थायी कमिटी हटाएको थियो । त्यसैगरी केन्द्रीय कमिटीको आकार पनि ३५५ बाट घटाएर २५५ बनाएको थियो ।स्थायी कमिटीबाहेक सचिव पदका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुले समेत सचिव बन्ने प्रयासस्वरुप गृहकार्य गरिरहेका छन ।

एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल यस पटक आफूले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनुहुन्छ । ‘मैले उम्मेदवारी दिने पद सचिव नै हो, पौडेलले भन्नुभयो, अब केन्द्रीय कमिटी सदस्यको लागि मात्रै चुनाव लडिदैन ।’ पार्टी संगठनमा आफूभन्दा निक्कै जुनियर नेताहरु यसअघि नै पदाधिकारी र स्थायी कमिटी सदस्य बनिसकेकाले आफूले पनि सचिव पदको दाबी गरेको जनाउनुभयो ।

हाल स्थायी कमिटीमा रहेका नेताहरु भीम आचार्य, खगराज अधिकारी, किरण गुरुङ, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, डा. राजन भट्टराई, कर्ण थापा, हिक्मत कार्की, अग्नि खरेल, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठलगायत छन् ।यीमध्ये एकाधबाहेक धेरैले सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । सचिव पदमा राजेन्द्र गौतम, बिन्दा पाण्डे, सूर्य थापा, महेश बस्नेत, गोकुल बाँस्कोटाले पनि आकांक्षा देखाएका छन् । त्यस्तै महेश बर्तौला, ज्वालाकुमारी साह, सुनिता बराल लगायतले पनि सचिव पदका लागि आकांक्षा देखाएको बताइएको छ ।

Leave a Reply