कलैया,नेपाल पत्रकार महासंघ बाराले बिहीवार संचार क्षेत्रको सुरक्षाबारेमा प्रिन्ट र विद्युतीय सञ्चारमाध्यमका सम्पादकहरुसंग छलफल गरेको छ ।कलैयास्थित महासंघको सभाहलमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले राजावादी आन्दोलनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यारालाई अहिलेसम्म कार्बाहीको दायरामा ल्याउन नसकिएकोमा आक्रोश व्यक्त गरे । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गरेका छन ।
संचार क्षेत्रमाथिको आक्रमण सधैकोलागि अन्त्य गरिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पुर्णप्रेस स्वतन्त्रताको पक्षमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले संचार क्षेत्रमाथि आक्रमण गर्नेलाई कडा कार्बाही गर्न माग गर्नुभयो । कार्यक्रम जिल्लाका विभिन्न संचार संस्थाका सम्पादक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


















