फाइल तस्वीर

काठमाडौं । विपक्षी दलका नेताहरूले संसद् बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले छुट्टाछुट्टै भेट गरी संसद् बोलाउन माग गरेका हुन्।

भेटका क्रममा सभामुख अर्यालले छिट्टै संसद् आह्वान गर्ने प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन्।

सभामुखसँगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पछिल्लो समय सार्वजनिक भएका संवेदनशील विषयमा संसद्भित्रै व्यापक छलफल गरेर निकास खोज्नुपर्ने बताए। गम्भीर विषयलाई लामो समयसम्म अल्झाएर राख्नुभन्दा संसद् बैठक बोलाएर समाधान खोज्न सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।

अध्यादेशमार्फत संसद्लाई छल्ने र लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने काम भइरहेको भन्दै उनले संसद् चाँडो बोलाउनुपर्नेमा जोड दिए। कर्मचारीलाई कार्यस्थलबाट उठाएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने तथा यातना गृहजस्तो अनुभूति गराउने घटनाको समाधान पनि संसद्बाटै खोजिनुपर्ने उनले बताए।

त्यस्तै, एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद् नहुँदा विभिन्न समस्या र विकृति बढिरहेको भन्दै तत्काल बैठक आह्वान गर्नुपर्ने बताइन्। सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलमा बिचौलियाको प्रभाव बढेको उल्लेख गर्दै उनले त्यसलाई निरुत्साहित गर्ने र खोजी गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताइन्।

न्यायाधीशमाथि उठेका प्रश्नको अध्ययन तथा छानबिन न्याय परिषद्, सर्वोच्च अदालत वा संसद्को समितिमार्फत गर्न सकिने उनको भनाइ छ।

यसअघि सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद् आह्वानका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विपक्षी दलका नेताहरूले मंगलबार सभामुखसँग भेट गरेका हुन्।

Leave a Reply