पुष्पराज खतिवडा
बारा,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले आफुले पाउने सुविधाबाट वडाभित्रका ११ विपन्न परिवारमा गाईको एक÷एक वटा करेली बाच्छी सहयोग गर्नुभएको छ ।आर्थिक रुपमा विपन्न र जीविकोपार्जनमा समस्या बेहोर्दै आएका परिवारका सदस्यहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले वडा अध्यक्ष वाग्ले उपमहानगरपालिकाबाट आफूले प्राप्त सुविधाको रकम खर्चेर गाईको बाच्छी वितरण गरिएको हो । ‘वडा अध्यक्षको हैसितबाट पाउँदै आएको सुविधा विपन्न वर्गका दलित, महिला, अपाङ्ग सहितका आर्थिक रुपमा कमजोर परिवारमा सहयोग गरेको हुँ ।’ वडा अध्यक्ष वाग्लेले भन्नुभयो ।

वडा अध्यक्ष वाग्लेले कल्पना फेवाली, सरजुग सहनी, भदिया देवी थरुनी, झरपतिया मुसहर्नी, सुनैना देवी, सुकदेव वाइवाको परिवारलाई करेली बाच्छी प्रदान गर्नुभएको हो । यस्तै समिना खातुन, सिता देवी थापा मगर, मनमाया पहरी, कलिता देवी र राजकुमार श्रेष्ठले पनि गाईको बाच्छी सहयोग प्राप्त गरेका छन । वडा अध्यक्ष वाग्लेले बाच्छी खरिदमा लगानी भएको रकम भने उल्लेख गर्न चाहानुभएन । ‘मैले दानको रुपमा सहयोग गरेको हुँ, लागत भनिरहन उपयुक्त हुँदैन ।’ उहाँले भन्नुभयो ।
वडा कार्यालय परिसर बडहर्वामा भएको एक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको उपस्थितिमा गाईका बाच्छी वितरण गरिएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहनुभएका उपप्रमुख अधिकारीले वडा अध्यक्षको कर्मको खुलेर प्रशंसा गर्नुभएको थियो । ‘विपन्न परिवारको आर्थिक अवस्थामा सुधार गर्ने हेतुले आफूले पाएको आर्थिक सुविधाबाट विपन्न परिवारमा गाई वितरण गर्ने वाग्लेजीको कार्य मावनताको उत्कृष्ट कर्म हो ।’ उहाँले भन्नुभयो ।कार्यक्रम अपाङ्ग सेवा समिति बाराका अध्यक्ष गंगा वाग्ले, कोषाध्यक्ष शंकर दाहाल १८ नम्बर वडा समितिका सदस्यहरु एवं वडा सचिव सिमा उप्रेती लगायत सहभागी थिए ।


















