बारा । रौतहटको चन्द्रपुर आसपासका राष्ट्रिय वन क्षेत्रमा करिब तीन वर्षदेखि बस्दै आएको जंगली हात्ती ‘यमगज’ पछिल्लो एक सातादेखि पर्सा राष्ट्रिय निकुञ्जको आधाभार–अमलेखगन्ज क्षेत्रमा देखिन थालेको छ। कुनै समय मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने र आक्रामक व्यवहार देखाउने यमगज पछिल्लो समय भने तुलनात्मक रूपमा शान्त हुँदै गएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार पाँच वर्षअघिको तुलनामा यमगजको व्यवहारमा उल्लेख्य परिवर्तन आएको छ। उमेर बढ्दै जाँदा मत्ता हात्तीको आक्रामकता कम हुँदै जाने भएकाले त्यसको प्रभाव यमगजमा पनि देखिएको उनको भनाइ छ।

रौतहटमा बस्ने क्रममा अगाडिको दाहिने खुट्टामा गोली लागेर गम्भीर घाइते भएको यमगज संक्रमणका कारण मृत्युको मुखमा पुगेको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयका चिकित्सक टोलीले पटकपटक उपचार गरेपछि अहिले उसको घाउ धेरै हदसम्म निको भएको छ।

सन् २०२१ मा झापाबाट पर्सा र चितवन क्षेत्रका वनमा आएका तीन जंगली हात्तीमध्ये यमगज पनि एक हो। त्यतिबेला आएका मकुना र दारेमध्ये मकुनालाई दुई वर्षअघि चितवनमा सेनाले गोली हानी मारेको थियो भने दारे अर्को हात्तीको समूहमा मिसिएको संरक्षण अधिकृत रामले बताए।

यमगजले बारा, पर्सा, रौतहट र मकवानपुरमा गरी आधा दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान लिएको बताइएको छ। बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने, घर भत्काउने र अन्न खानेजस्ता गतिविधिका कारण लामो समयसम्म स्थानीय त्रसित बनेका थिए। तर, पछिल्लो तीन वर्षयता यमगजको आक्रमणबाट मानवीय क्षति भएको घटना सार्वजनिक भएको छैन।

करिब १२–१३ वर्षको यमगजले पाँच वर्षअघि अमलेखगन्जस्थित आधाभार कार्यालय नजिकै यमपञ्चकका दिन एक महिलाको ज्यान लिएपछि उसलाई ‘यमगज’ नाम दिइएको थियो।

उसको आक्रामकता कम गराउने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले २०७९ कात्तिकमा डार्ट गरी दुवै दारा काटेको थियो। तर, त्यसबेला पनि व्यवहारमा तत्काल सुधार देखिएको थिएन।

अहिले घाइते खुट्टाको उपचार, उमेर वृद्धि र अन्य कारणले यमगजको स्वभावमा परिवर्तन देखिन थालेको संरक्षण अधिकृत रामको भनाइ छ।

Leave a Reply