बारा,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको साधारण सभा बाराको आगामी फागुन १७ गते बाराको कोल्हवीमा हुनेभएको छ ।साधारणसभाबाट फोनिज मधेस प्रदेशले स्थापना गरेको प्रदेशस्तरीय २ वटा पत्रकारीता पुरस्कार समेत घोषणा गर्ने महासचिव तामाङले जानकारी दिनुभयो । पुरस्कार घोषणासंगै ४ जना सक्रिय पत्रकारलाई नगद दश हजार राशीसहित पुरस्कृत गरिने उहाँले बताउनुभयो ।
फोनिज मधेस प्रदेशले ‘क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार’ तथा ‘देवनारायण गनिया स्मृति’ पत्रकारिता पुरस्कार स्थापना गरेको फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले बताउनुभएको छ । क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट २ जना क्रियाशील पत्रकारलाई नगद जनही १० हजार राशीबाट पुरस्कृत गरिने भने देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट २ जना जनजाती पत्रकारलाई जनही नगद १० हजार राशीको पुरस्कार प्रदान गरिने छ ।
फोनिज मधेश प्रदेशले प्रत्येक वर्ष ४ जना पत्रकारलाई पुरस्कार दिने फोनिज मधेश प्रदेशका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश अध्यक्ष चौधरीको संयोजकत्वमा महासचिव तामाङ र कोषाध्यक्ष ज्वोति लामा रहेको ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको छ ।बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमलबाबु चौधरीले संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीको नाममा क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिन लागेको हो । चौधरी पछिलो समय सामाजसेवासँगै कुशल व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।
त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरीप्रसाद चौधरी तथा महेन्द्रप्रसाद चौधरी रहेका छन् ।दुबैजना चौधरी दाजुभाई हुन् । दाजु किशोरीप्रसाद चौधरीले सरकारी वकीलबाट अवकास प्राप्त गर्नुभएको छ भने महेन्द्रप्रसाद चौधरी वरिष्ठ कृषि अधिकृतबाट अवकास प्राप्त कुशल राष्ट्र सेवक कर्मचारी हुनुहुन्छ । दुबै दाजुभाईले आफ्नो माता र पिताको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी गाउँमा विद्यालय पनि स्थापना गरेका छन् । उनीहरुले आफ्नो आमा र बुवाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन ।फोनिज मधेश प्रदेशका अध्यक्ष चौधरीले पुरस्कार दिने दाताहरुलाई धन्यवाद दिदै उहाँहरुको सहयोगबाट मधेस प्रदेशको पत्रकारिता क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

















