जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवा गर्दा मनोमानी तथा अपारदर्शी निर्णय भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको मूल गेटअगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन्। सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको भन्दै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएकालाई मात्रै सरुवा गरिएको आरोप लगाए। मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको आदेशमा केही कर्मचारीको सरुवा रोकिएको दाबी गर्दै उनले त्यसको आधार र निर्णयकर्ताबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सरुवा अवधि पूरा गरेका कर्मचारीको निष्पक्ष र पारदर्शी सरुवा गर्नुपर्ने, सबै निकायमा समान मापदण्ड लागू गर्नुपर्ने, सरुवामा भएका त्रुटि सच्याउनुपर्ने र कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा पदस्थापन गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, राजनीतिक संरक्षण र अपारदर्शी चलखेल अन्त्य गर्नुपर्ने, सरुवा रोक्नुको कारण सार्वजनिक गर्नुपर्ने तथा महिला र नवप्रवेशी कर्मचारीमाथिको विभेद र मानसिक दबाब हटाई सम्मानजनक कार्यस्थल सुनिश्चित गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।

अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न प्रदेश सरकारलाई समयसीमा दिएका छन्। तोकिएको अवधिमा माग पूरा नभए मन्त्रालय र मुख्यमन्त्री कार्यालयअगाडि थप सशक्त धर्ना तथा प्रदेशव्यापी निर्णायक आन्दोलन गर्ने चेतावनी उनले दिएका छन्।

Leave a Reply