दुष्यन्त चौधरी

कलैया, १३ जेठ ।  ज्येष्ठ नागरिक जिल्ला संघ बाराले मन्त्रालयको नामबाट ‘ज्येष्ठ नागरिक’ शब्द हटाइएको विषयप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । संघले सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय बारामा बुधबार ज्ञापनपत्र  बुझाएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख ३० गतेको निर्णयअनुसार साविकको “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय” को नाम परिवर्तन गरी ‘ज्येष्ठ नागरिक’ शब्द हटाइएकोप्रति संघले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । संघले उक्त निर्णयबाट देशभर रहेका करिब ३० लाख ज्येष्ठ नागरिकको आत्मसम्मानमा चोट पुगेको जनाएको छ ।

जिल्ला संघ बाराले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय निर्णयअनुसार पहिलो चरणमा बारा सहित सातै प्रदेश र ७७ वटै जिल्लामा एकसाथ ज्ञापनपत्र  बुझाउने अभियान सञ्चालन गरिएको बारे संघका सचिव लक्ष्मीप्रसाद चौधरीले  जानकारी दिनुभयो ।

ज्ञापनपत्र  बुझाउने क्रममा जिल्ला अध्यक्ष भरत बहादुर मल्लले मन्त्रालयको नामबाट ‘ज्येष्ठ नागरिक’ शब्द हटाइनु अन्यायपूर्ण भएको बताउँदै सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरे । उनले ज्येष्ठ नागरिक राज्यका अनुभव, ज्ञान र योगदानका धरोहर भएकाले उनीहरूको पहिचान मेटिने खालका निर्णय स्वीकार्य नहुने बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ज्ञापनपत्र  ग्रहण गर्दै सम्बन्धित निकायसम्म माग र सुझाव पुर्‍याइने बताए ।

ज्ञापनपत्र  बुझाउने कार्यक्रममा संघका उपाध्यक्ष इन्द्रासन मण्डल, सचिव लक्ष्मी प्रसाद चौधरी, कोषाध्यक्ष बैधनाथ लाल कर्ण, सदस्यहरू सत्यनारायण कुशवाहा, तेज नारायण राय, मोहन साह, राजदेव साह तथा शम्भुप्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply