सिम्रौनगढ — सुरक्षाको नाममा दमन, सीमावर्ती व्यापारको गला घाँटी र कृषकलाई मलविना मरुभूमिमा फालिएकोजस्तो व्यवहार! यिनै अन्यायका विरुद्ध सिम्रौनगढका व्यापारी र कृषकहरू आजदेखि सडकमा उत्रिएका छन्।
प्रहरी ज्यादती, मल–बीउको चरम अभाव र छोटी भन्सार सञ्चालन नहुनुजस्ता समस्याहरू प्रति आक्रोशित बन्दै, स्थानीयहरूले बजार पूर्ण बन्द गराउँदै टायर बालेर सडक तताएका छन्। सिम्रौनगढ बजारका कुनाकुनाबाट “प्रहरी दमन बन्द गर”, “भन्सार खोला, जनता बचाऊ”, “कृषिमा लापरवाही होइन, मल देऊ” जस्ता गगनभेदी नाराहरू गुन्जिएका छन्।
सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले कडा शब्दमा चेतावनी दिँदै भने, “७० प्रतिशत खेत खाली छन्, बाँकी खेतमा गरिएको थोपा खेती मल र बीउको अभावले सुक्दै छ। अनि हामी चुप बस्ने? यो आन्दोलन हाम्रो बाध्यता हो।”
भन्सार नचलेको कारण व्यापारीहरू बिउँझेकै दिन बीरगन्ज वा गौर दौडिन बाध्य छन्, जसले ढुवानी खर्च बढाएको र सामान मूल्य असहज रूपमा महँगो बनेको उनले बताए। “यसरी व्यापार चौपट भइसकेको छ, र राज्य कानमा तेल हालेर बसेको छ,” कुशवाहाको थप आरोप थियो।
साथै, व्यापारीहरूले प्रहरीद्वारा दैनिकजसो ट्रक, बाइक र सामान बोकेको सवारी रोकेर हैरानी दिइएको गुनासो गरेका छन्। “जाँचको नाममा बारम्बार दुःख दिएको छ, यो दमन होइन त के हो?” एक स्थानीय व्यापारीको आक्रोश थियो।
कुशवाहाले स्पष्ट चेतावनी दिए, “यदि अब पनि सरकारले चुइँक्क बोलेन भने भोलिबाट चक्का जामसहितको चरणबद्ध, कठोर आन्दोलन हुनेछ।”
हाल सिम्रौनगढ बजार पूर्णरूपमा ठप्प छ। आन्दोलनले केवल व्यापारिक गतिविधि होइन, जनजीवन नै अस्तव्यस्त पारेको छ। आन्दोलनकारीहरू माग पूरा नभएसम्म थप उग्र कदम चाल्ने तयारीमा छन्।



















