निजगढ,चर्को अवाजमा डिजे साउण्ड नबजाउन जिल्ला प्रशासन कार्यालय बाराले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आइतवार विज्ञप्तिमार्फत यस्तो अनुरोध गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका विभिन्न कार्यक्रमहरूमा डिजे साउण्ड सिस्टम प्रयोग गरी चर्को आवाजमा बजाउने गरिएका कारण सर्वसाधारणको स्वास्थ्यमा नकरात्मक असर परेको गुनासो आएकाले डिजे साउण्डमा रोक लगाउनुपरेको प्रजिअ अधिकारीको भनाई छ ।
विज्ञप्तिमा अस्पताल, विद्यालय, कार्यालय लगायतका स्थानहरूमा ध्वनी प्रदुषणबाट समस्या उत्पन्न हुने र नेपालीहरुको मौलिक बाजागाजा, लोक संस्कृतिहरू समेत लोप हुने अवस्थामा पुगेकोले डिजे साउण्ड सिस्टम बजाउन र सवारी साधनमा राखेर एक ठाउँबाट अर्को ठाउँमा बजाउँदै लैजाने कार्यलाई निरुत्साहित गर्न यस्तो रोक लगाउने निर्णय गर्नुपरेको पनि विज्ञप्तिमा जनाइएको छ । सूचनाको बर्खिलाप गरेको पाइएको खण्डमा डिजेमा प्रयोग भएका वाद्य सामग्री जफत गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी पनि विज्ञप्तिमा गराइएकोछ ।
त्यसैगरी होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरित जथाभावी रङ्ग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्यहरू नगर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयले पर्व मनाउने नाममा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने हानिकारक रङ्गीन, केमिकलयुक्त र प्लाष्टिकजन्य बस्तुहरुको प्रयोग एवम् आयात र बिक्री वितरण समेत नगर्न नगराउनु हुन अनुरोध गरेको छ ।पर्वमा हुनसक्ने सबैखालका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई परिचालन गरिने र अनुगमनको क्रममा कोही कसैबाट त्यस्तो कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत जानकारी गराइएकोछ । यसको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र ट्राफिक प्रहरी समेतको उपस्थितिमा जिल्लाका विभिन्न स्थानहरूमा संयुक्त चेक प्वाइन्ट स्थापना गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको पनि सोही विज्ञप्तिमा उल्लेख छ ।


















