जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री यादवले आज कुराकानी गर्दै केही दिनभित्रै काठमाडौं पुगेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका दलका केन्द्रीय अध्यक्ष तथा शीर्ष नेताहरूसँग संवाद गर्ने र त्यसपछि सरकार विस्तार गर्ने बताएका हुन्।

“केही दिनभित्रै काठमाडौं जान्छु,” उनले भने, “कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेताहरूलाई भेटेर छलफल गर्छु, त्यसपछि सरकार विस्तार गर्छु।”

मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने आफ्नो चाहना रहेको पनि स्पष्ट पारे।

प्रदेशमा राजनीतिक सहमति र सहकार्यको वातावरण निर्माण गर्दै सबै दलको सहभागितामा सरकार सञ्चालन गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

गत मंसिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएपछि यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई समेटेर सरकार विस्तार गर्ने तयारी अघि बढाएका हुन्।

Leave a Reply