सिमरा,४४ औ विश्व पर्यटन दिवसको अवसरमा सिमरा र वीरगञ्जमा पर्यटकहरुको बुधवार स्वागत तथा सम्मान गरिएको छ ।काठमाडौंबाट बुद्ध एयरको पहिलो उडानबाट उत्रिएका यात्रुहरुलाई सिमरा विमानस्थलमा र भारतबाट आएका पर्यटकहरुलाई वीरगञ्जको शंकाराचार्य द्वारमा स्वागत तथा सम्मान गरिएको हो ।सिमरा एयरपोर्टमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र नाट्टा मधेस प्रदेश अध्यक्ष एवम् पर्यटन तथा हवाई यातायात समिति नेपाल उद्योग वाणिज्य महासघ मधेस प्रदेशका सभापति मोहन शर्माले यात्रुहरुलाई अविर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।त्यसैगरी होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्ज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय वीरगञ्जले नेपाल भारत सीमामा रहेको शंकाराचार्य गेटमा भारतबाट घुम्न नेपाल आएका पर्यटकहरूलाई स्वागत गरेको छ ।भारतको गोपालगञ्जबाट आएका चारजना पर्यटकहरूलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।स्वागतका लागि संघका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका सचिव पन्त, संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरी लगायतको उपस्थिति रहेको थियो ।नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन क्षेत्र एक भएपनि पर्यटन क्षेत्रलाई राज्यले अझै उपेक्षा गरेको व्यावसायीहरूको गुनासो छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएको उनीहरूको भनाइ छ ।