निजगढ,बाढी जल तथा मौसम विज्ञान विभागले बाराको पसाहा खोला र दुधौरा लगायतका जिल्लाका अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै बिहीवार सर्तकता अपनउन आग्रह गरेको थियो । तर विभागको पूर्वानुमान विपरित ती नदी र खोलाहरुमा सामान्य बाढी आएको छ ।
बारा र मकवानपुरको केही स्थानमा भारी वर्षा भएको भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा बिहीवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको थियो । परवानीपुरमा बिहीवार बिहानसम्मको पछिल्लो २४ घण्टामा १०८ मिलिमिटर वर्षा मापन भएको थियो । त्यसैले सो क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको थियो ।
विभागको बाढी सूचना केन्द्रकाअनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथापर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा मापन भएको छ । सूचना केन्द्रले बिहीवार बिहान साढे ५ बजे जारी गरेको सतर्तकताको सूचनाअनुसार ती क्षेत्रमा तीन घण्टादेखि लगातार भारी वर्षा मापन भएको थियो । सोही कारणले विभागले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई बाढीको सचेत गराएपछि स्थानीयमा चिन्ता र त्रास बढेको थियो । ‘पसाह र दुधौरामा ठूलो बाढी आउँछ भन्ने हल्ला थियो, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले भन्नुभयो, तर जिल्लाका नदीमा खासै बाढी आएन ।’
यसैगरी पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही, कास्की र पूर्वीनवलपरासी पूर्वको दुम्कौलीमा पनि भारी वर्षा मापन भएको थियो । त्यहाँ पनि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
यसैगरी चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा पनि बिहीवार बिहान भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्र भई बहने रिउ खोला र अन्य खहरे खोलामा बाढीले क्षती पु¥याउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो ।
बुधवार राति नै मकवानपुरको हेटौंडा, चितवनको शक्तिखोर, नवलपरासी, रूपन्देही, कास्की र आसपास केही स्थानमा भारी वर्षा भएकाले बिहीवार बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको हो ।