पोखरिया,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर– २ लमरियामा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।शुक्रवार आयोजित एक कार्यक्रमका बीच मन्त्री गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमार्फत निर्माण हुन लागेको १३२ मिटर सडक र १०७ मिटर नालाको शिलान्यास गर्नुभएको हो । कुल लागत २५ लाख रुपैयाँ अनुमान गरिएको यो योजनाले स्थानीय पूर्वाधार सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले सरकारले तराई–मधेशका आदिवासी, जनजाति, मधेशी तथा सीमान्तकृत समुदायको सर्वाङ्गीण विकासका लागि विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो नाला र सडक निर्माणको लागि भौतिक पूर्वाधार मन्त्रालयमार्फत बजेटको व्यवस्था मेरो पहलमा भएको हो । यदि इमान्दारीका साथ काम सम्पन्न गरियो भने आगामी वर्ष अझ थप बजेट विनियोजन गरिनेछ । तर, काममा लापरवाही भएमा पुनः बजेटको अपेक्षा नगर्नुहोस् ।”

मन्त्री गुप्ताले विगतमा तराई–मधेशका जनताको गुनासो सरकारप्रति उपेक्षा भएको भन्ने भए पनि वर्तमान सरकारले प्राथमिकताका साथ मधेशको समस्या सम्बोधन गर्न थालेको उल्लेख गर्नुभयो ।“हामीलाई छिमेकी मुलुकको विकासभन्दा बढी आफ्नै देशको समृद्धिमा चासो छ । त्यसैले तराई– मधेश क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने मन्त्रिपरिषद्को योजना सफल पार्न म निरन्तर प्रयत्नशील छु,” मन्त्री गुप्ताले भन्नुभयो ।साथै, नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनु भएको गुप्ताले सबै पक्षले आ–आफ्नो जिम्मेवारी बुझेमा समृद्धि हासिल गर्न समय लाग्ने छैन भन्दै सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहानले नगरको विकासका लागि विभिन्न मन्त्रालयहरूसँग समन्वय गरि थप बजेट सुनिश्चित गराउन मन्त्री गुप्तासँग आग्रह गर्नु भएको थियो ।

Leave a Reply