कलैया,जिल्ला प्रशासन कार्यालय बाराको सूचनापछि सदरमुकामा कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कारागार शाखाको स्वामित्वको सरकारी जग्गामाथिको अतिक्रमण हटाउने प्रक्रिया सुरु भएको छ ।वर्षौँदेखि अवैध रूपमा कब्जा गरिएका घरटहरा तथा संरचनामाथि स्थानीय प्रशासनले कडा रूपमा प्रस्तुत भएपछि अहिले केही अतिक्रमणकारीहरूले आफ्ना संरचना आफैँ हटाउन थालेका छन् ।
कारागार शाखा कलैयाको स्वामित्वमा रहेका कित्ता नम्बर १०३, १०२ र ४४४ अन्तर्गतका सरकारी जग्गामा स्थानीय व्यक्तिहरू तथा भू–माफियाले स्थायी र अस्थायी संरचना बनाएर लामो समयदेखि प्रयोग गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराले गत चैत २६ गते एक सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र सम्पूर्ण अवैध संरचना हटाउन निर्देशन दिएको थियो । प्रशासनले दिएको उक्त समयसीमा सकिएसँगै अहिले जग्गा खाली गराउने कामलाई थप तीव्रता दिइएको हो ।
अतिक्रमणकारीहरूले कुनै पनि कानुनी अनुमति वा सम्झौताविना नै सरकारी सम्पत्ति कब्जा गरेको पुष्टि भएपछि स्थानीय प्रशासन ऐनअनुसार यो कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासनको कडा चेतावनीपछि केही व्यक्तिहरूले अहिले स्वेच्छाले आफ्ना टहराहरू हटाउन थालेका छन् ।
यसैबीच जग्गाको अवस्था र संरचना हटाउने कार्यको अनुगमन गर्न आगामी सोमबार प्रशासन, नापी कार्यालय तथा सुरक्षाकर्मीको संयुक्त टोलीले पुनः स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ ।प्रशासनले निर्धारित समयसम्म पनि अटेर गरी संरचना नहटाइए डोजर प्रयोग गरेर भत्काइने र सो क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने चेतावनी दिएको छ ।

















