कलैया,मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा बाराको कलैयामा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।सञ्चारकर्मीहरुलाई वर्तमान अवस्थामा सञ्चारमाध्यमहरुले भोग्दैआएको चुनौती र समाधानका उपायहरूबारे जानकारी प्रदान गर्ने उद्देश्ले आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यमको भोगिरहेका चुनौतीबारे धारणा राख्नुभएको थियो । उहाँले सञ्चारमाध्यमलाई समाजको ऐना भएको उल्लेख गर्दै प्रविधि र जनसांख्यिक परिवर्तनसँगै सञ्चार क्षेत्रले नयाँ–नयाँ चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

“गुणस्तरीय समाचार, तथ्यपरक रिपोर्टिङ र स्वतन्त्र पत्रकारिताको सुनिश्चितता आजको आवश्यकता हो,” सोनलले भन्नुभयो ।

उहाँले डिजिटल सञ्चारमाध्यमको बढ्दो प्रभाव, पत्रकारहरूको सुरक्षाको महत्व र सञ्चार क्षेत्रको व्यावसायिक विकासबारे समेत प्रकाश पार्नुभयो । साथै स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्न र आधुनिक प्रविधिसँग अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो ।मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, महासघको केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा र पर्साका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी वक्ताहरूले सञ्चार क्षेत्रले भोग्नुपरेका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका थिए । मिडिया काउन्सिलका प्रतिनिधिहरूले गोष्ठीमार्फत सञ्चारकर्मीहरूलाई गुणस्तरीय, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषणमा थप सचेत रहन आग्रह गरेका छन् ।

Leave a Reply