पुष्पराज खतिवडा
बारा – जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका अलग–अलग स्थानमा दुई जना पाँच वर्षीया नाबालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार र शुक्रवार २ जनालाई पक्राउ गरेको हो । प्रहरीले बालिकामाथि जबरजस्ति करणी गरेको आरोपमा एक १४ वर्षीय नाबालक र ७५ वर्षीय वृद्धलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीकाअनुसार जीतपुरसिमरा उपमहानगरपालिका– १९ इनर्वासिरामा पाँच वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ७५ वर्षीय हसन जान मियाँ पक्राउ परेका हुन । गाउँमै ताडको फल बेच्दै आएका मियाँले सोही फल लिन गएकी बालिकालाई घरभित्र लगेर जबर्जस्ती करणी गरेको पीडित परिवार र स्थानीयको आरोप छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट इनर्वासिराको टोलीले आरोपी मियाँलाई उनकै घरबाट बिहीवार राति नियन्त्रणमा लिएको थियो ।
मियाँ पक्राउ परेलगत्तै आक्रोशित स्थानीयले उनलाई आफूहरूको जिम्मा लगाउन माग गर्दै इनर्वासिरा प्रहरी चौकी घेराउ गर्दा केही बेर स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले कडा सुरक्षा घेराबीच मियाँलाई चौकीबाट निकाल्ने क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा प्रसौनीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद रानामगर सामान्य घाइते हुनुभएको छ भने प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन सिमरा, जीतपुर, प्रसौनी र कलैयाबाट थप प्रहरी टोली परिचालन गरी मियाँलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याइएको छ ।
प्रहरीले बिहीबार राति नै आरोपी मियाँ र बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) गराएको छ । बालिकाले आफूमाथि मियाँले जबर्जस्ती गरेको बयान दिएका आधारमा अभिभावकले किटानी जाहेरी दिएका हुन । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र आरोपीलाई हिरासतमा राखी घट्नाको अनुसन्धान अघि बढाइएको छ ।
त्यसैगरी अर्को घटनामा पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान बाराको पथलैयाबाट एक नाबालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका– १ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन् ।
पीडित बालिकाकी अभिभावकले प्रहरी समक्ष पुगेर घटनाबारे जानकारी गराएपछि नाबालक पक्राउ परेका हुन् । प्रहरी चौकी पथलैयाको प्रहरी टोली पुगेर नाबालकलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । पक्राउ परेका नाबालकले आरोप स्वीकार समेत गरिसकेका छन् ।
पीडित नाबालिका र आरोपित नाबालकलाई स्वास्थ्य परीक्षण तथा ओसीएमसीका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ । स्वास्थ्य परीक्षण रिपोर्टपछि थप कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।












